ला पाज। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सैन्य कार्गो विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

लकहिड मार्टिन निर्मित सी–१३० हर्कुलस यातायात विमान पूर्वी सहर सान्ता क्रुजबाट उडेको थियो । अवतरणका क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यू (सडक) मा खसेको थियो । विमानमा बोकेको बैंकनोट दुर्घटनापछि सडकभरि छरिएको थियो ।

advertisement

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियो तथा तस्बिरमा विमानका भग्नावशेष सडकमा छरिएका, दर्जनौं कार तथा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ । छरिएको नगद उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पछि अधिकारीहरूले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानमा बोकेको नगदमा कुनै आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानुनी वा खरिद शक्ति नरहेको स्पष्ट पारेको छ । “यसको सङ्कलन, कब्जा वा प्रयोग अपराध हो,” मन्त्रालयले जनाएको छ ।

दुर्घटनाको कारण अझै खुलेको छैन । प्रत्यक्षदर्शीहरूले मौसम अत्यन्त खराब रहेको, भारी असिना परेको र बिजुली चम्किरहेको बताएका छन् । ६० वर्षीया विक्रेता क्रिस्टिना चोकले आफ्नो कारमा विमानको भग्नावशेष ठोक्किएको बताइन् । “टायर हाम्रो माथि खस्यो । मेरी छोरी घाइते छिन्, टाउकोमा चोट लागेको छ,” उनले एएफपीसँग भनेकी छन् ।

राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरले १५ देखि १६ जनाको मृत्यु भएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले कम्तीमा २८ घाइते भएको जनाएको छ । मृतकहरू विमानस्थल परिसर र सडक दुवै स्थानमा फेला परेका छन् ।

दुर्घटनापछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ । ला पाज अभियोजकको कार्यालयले अराजकताको फाइदा उठाएर लुटपाट गरेको सूचना प्राप्त भएको बताउँदै १२ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ ।

तीन हजार ६५० मिटर उचाइमा अवस्थित ला पाज विश्वकै सबैभन्दा अग्लो प्रशासनिक राजधानी हो । रक्षा मन्त्रालयले घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ ।

एल अल्टोका अस्पतालहरूले घाइतेहरूको उपचारका लागि रक्तदान अभियान सुरु गरेका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com