काठमाडौं। निर्वाचन आयुक्त सगुन शम्शेर राणाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेल तथा आचारसंहिता उल्लंघन रोक्न विशेष निगरानीको व्यवस्था मिलाइएको बताएका छन् ।

रासससँगको अन्तर्वार्तामा आयुक्त राणाले मौन अवधिलाई उम्मेदवारहरूलाई प्रचारप्रसारबाट थाकेको आराम गर्ने तथा मतदातालाई स्वतन्त्र रूपमा सोचविचार गरी उम्मेदवार छनोट गर्ने समयका रूपमा व्याख्या गरे । उनले भने, “मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले मतदातालाई प्रभावमा पार्ने गरी आचारसंहिता विपरीत गतिविधि नगर्नुहोस् भन्ने अपिल छ । आयोग यस विषयमा पूर्ण सचेत छ । कानुन विपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत तथा सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था गरिएको छ ।”

advertisement

उनले मतदान केन्द्रहरूको व्यवस्थापनबारे पनि जानकारी दिए । एक हजार मतदाता भएको ठाउँमा एउटा मतदान केन्द्र तोकिएको र त्यसभन्दा बढी मतदाता भए थप केन्द्रको व्यवस्था गरिएको बताए । वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान सहज बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

“उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी मतदातालाई सहज वातावरण प्रदान गर्न हामी प्रयत्नशील छौं,” आयुक्त राणाले भने ।

मतगणनालाई छिटो र प्रभावकारी बनाउन यसपालि जनशक्ति व्यवस्थापनमा सुधार गरिएको पनि उनले उल्लेख गरे । भौगोलिक अवस्थाका कारण कतिपय जिल्लामा मतपेटिका सङ्कलन गरी केन्द्रसम्म पुर्‍याउन केही समय लाग्न सक्ने भए पनि जनशक्ति बढाएर प्रक्रियालाई छिटो बनाउने प्रयास गरिएको उनले बताए ।

आयोगले मतदानलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ । मौन अवधिमा आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सञ्चारकर्मीहरूलाई आयुक्त राणाले आग्रह गरेका छन् ।

फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने अन्य सुरक्षा तथा व्यवस्थापनका तयारी अन्तिम चरणमा पुगेका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com