ललितपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना राजनीतिक दलहरूको असफलताका कारण आफूहरू चुनावी मैदानमा उत्रिन बाध्य भएको बताएका छन्।

शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्षौंदेखि सत्तामा पुगेका दलहरूले जनताको विश्वास जितेर पनि देश र जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। जनताले पटक–पटक अवसर दिए पनि नेताहरूले मुलुकको अवस्था सुधार्न नसकेको उनको भनाइ थियो।

advertisement

साम्पाङले अबको राजनीतिक विकल्प श्रम, उत्पादन र संस्कृतिलाई प्राथमिकता दिने शक्तिहरू नै हुनुपर्ने दाबी गरे। हालै देखिएको ‘जेनजी’ आन्दोलनपछि मुलुक संकटमा परेका बेला ठूला भनिएका दलका नेताहरू जनतामाझ नदेखिएको भन्दै उनले त्यसलाई गैरजिम्मेवारीपूर्ण व्यवहारको संज्ञा दिए।

सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति पनि कडा टिप्पणी गरे। घण्टी चिन्ह लिएर आएको उक्त दल अब नयाँ शक्ति नरहेको उल्लेख गर्दै उनले पार्टीका सभापति रवि लामिछाने दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेकाले आफूलाई ‘नयाँ’ भन्न नमिल्ने बताए।

साम्पाङले लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै आफ्नो दोष अरूमाथि थोपर्ने प्रयास गरिएको टिप्पणी गरे। सत्तामा पुगेपछि रास्वपाले पनि पुराना दलकै शैली अपनाएको भन्दै उनले नयाँपनको नाममा जनतालाई भ्रमित पार्ने काम भइरहेको बताए।

देश निर्माणको मुख्य जिम्मेवारी अब युवापुस्ताको काँधमा रहेको उल्लेख गर्दै उनले युवालाई उत्पादन र विकासको आधार बनाउने स्पष्ट योजना आफ्नो पार्टीसँग रहेको बताए।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com