सर्लाही। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा सर्लाहीमा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ । कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको रामनगर गाउँपालिका–२ खैर्वा इनर्वाबाट करिब चार सय कार्यकर्ताले सामूहिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
शनिबार आयोजित एक विशेष कार्यक्रममा पूर्व संविधानसभा सदस्य शिवपुजन राय यादवले नवप्रवेशीहरूलाई टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले एमालेले अघि सारेको विकास, सुशासन तथा समृद्धिको एजेन्डालाई जनतामाझ थप प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
यो सामूहिक प्रवेशलाई आसन्न निर्वाचनसँग जोडेर हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले एमाले उम्मेदवार अमनिस यादवलाई सर्लाही क्षेत्र नम्बर ४ मा थप बल पुगेको छ । कांग्रेसको प्रभाव क्षेत्रबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गर्नुले क्षेत्रीय समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विभिन्न दल तथा समूहबाट हुने प्रवेश तथा गठबन्धनले दिनप्रतिदिन चुनावी समीकरण रोचक बन्दै गएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया