तेहरान । इरानका वरिष्ठ नेता अली लारीजानीले सर्वोच्च नेता आयतोल्ला अली खामेनीको मृत्युको बदला लिने चेतावनी दिएका छन्। उनले अमेरिकाले इरानी जनतामाथि गम्भीर चोट पुर्याएको आरोप लगाउँदै त्यसको प्रतिकार गरिने बताएका हुन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवसमेत रहेका लारीजानीले अमेरिकाले इरानी जनताको मुटुमा छुरा हानेको आरोप लगाउँदै त्यसको जवाफ पनि कडा रूपमा दिइने बताएका छन्। उनले अमेरिकी र इजरायली सेनाविरुद्ध थप प्रतिशोधात्मक कदम चालिने चेतावनी दिएका छन्।
उनले भने, ‘अमेरिकीहरूले इरानी जनताको मुटुमा छुरा हानेका छन्, त्यसको जवाफ हामी पनि उनीहरूको मुटुमा प्रहार गरेर दिनेछौँ।’
लारीजानीका अनुसार इरानका सशस्त्र सेनाहरूले निकै शक्तिशाली प्रतिक्रिया दिनेछन्। ‘उनीहरूले बुझ्नुपर्छ कि आक्रमण गरेर भाग्न सकिँदैन,’ उनले भने।
लारीजानी इरानका प्रमुख निर्णयकर्तामध्ये एक हुन् र खामेनीका प्रमुख सल्लाहकारसमेत रहेका थिए। उनले खामेनीको निधनपछि राष्ट्रपति र न्यायालय प्रमुखसमेत सहभागी हुने अस्थायी नेतृत्व संरचना छिट्टै गठन गरिने जानकारी दिएका छन्।
उनले इरान अन्य क्षेत्रीय देशसँग युद्धमा नभएको स्पष्ट पार्दै मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण जारी रहने बताएका छन्।
उनले जोड दिँदै भने, ‘अमेरिकीहरूले इरान राष्ट्रलाई धम्क्याउन सक्दैनन् भन्ने कुरा अब स्पष्ट हुनुपर्छ।’
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया