काठमाडाैं । केपी शर्मा ओलीले आइतबार एक भिडियो सन्देश जारी गर्दै आफ्नै नेतृत्वमा निर्वाचित सरकारलाई अपदस्त गरिएको र त्यसले देशमा अस्थिरता तथा विध्वंस निम्त्याएको टिप्पणी गरेका छन्। उनले प्रतिनिधिसभा विघटनपछि पुनः त्यही प्रतिनिधिसभाको निर्वाचन हुन लागेको प्रसंग उल्लेख गर्दै देशको भविष्यबारे गम्भीर भएर सोच्न आम जनतालाई आग्रह गरेका छन्।
ओलीले अहिलेको अवस्था ‘निर्माण र ध्वंस’ बीचको रोजाइ भएको बताउँदै जनताले स्पष्ट कित्ताकाट गर्नुपर्ने बताएका छन्। उनका अनुसार अब नागरिकले बनाउने कि भत्काउने, निर्माणको कि ध्वंसको बाटो” रोज्नुपर्ने अवस्था आएको छ।
उनले आफूविरुद्ध भ्रम फैलाइएको र आफ्ना कमीकमजोरीबारे प्रश्न उठाइएको स्वीकार गरे पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता नगरेको दाबी गरेका छन्। उनले भनेका छन् कि राष्ट्र जोगाउने पक्षमा उभिन नसके इतिहास र आफ्नै अन्तरात्माले माफी नदिनेछ।
ओलीले आफ्नो जीवनको अनुभव उल्लेख गर्दै आफूभन्दा आगामी पुस्ताका लागि संघर्ष गरिरहेको बताएका छन्। “देश पहिले” भन्ने आफ्नो अडान दोहोर्याउँदै अब नागरिकले पनि देशलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने समय आएको उनको भनाइ छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया