झापा । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जित वा हार केवल एमालेको मात्र नभई सम्पूर्ण देशकै जित वा हारसँग जोडिएको बताएका छन्। झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभा तथा मोटरसाइकल र्याली उद्घाटन गर्दै भट्टराईले ओलीको नेतृत्वमा मात्रै नेपाली राष्ट्रियता र स्वाभिमान सुरक्षित रहने दाबी गरे।
उनले भने, ‘ओलीले हार्नु भनेको नेपाली जनताको पहिचान र गौरव कमजोर हुनु हो। हामी सबैले राष्ट्रवादी शक्तिलाई विजयी गराउन एकजुट हुनुपर्छ।’ भट्टराईले झापालाई नेपाली कम्युनिस्ट आन्दोलनको पवित्र स्थल र पुनर्जीवन दिने क्षेत्रका रूपमा स्मरण गर्दै, यहाँबाट प्रवाहित हुने सन्देशले देशव्यापी अर्थ राख्ने बताए।
उपमहासचिवले झापा–५ मा भएको विकासको मोडेल देशभरका लागि उदाहरणीय भएको उल्लेख गर्दै मतदाताले फेरि राष्ट्रवादी नेतृत्वलाई रोज्नेमा आफू विश्वस्त रहेको बताए। उनका अनुसार, एमाले अहिले राष्ट्रवादी शक्तिको नेतृत्व गरिरहेको हुँदा देशको हितका लागि ओलीको जित अपरिहार्य छ।
भट्टराईले पार्टीभित्रको आन्तरिक विषय र जिम्मेवारी बाँडफाँडबारे बहस गर्ने समय नभएको भन्दै सबै नेता र कार्यकर्तालाई एकजुट भएर चुनावी मैदानमा होमिन निर्देशन दिए। ‘कोही संगठनमा, कोही संसद्मा, कोही स्थानीय तहमा रहेर हामी सबैले आ–आफ्नो ठाउँबाट पार्टीलाई जिताउन योगदान दिनुपर्छ,’ उनले भने।
उपमहासचिव भट्टराईले अहिलेको मुख्य आवश्यकता आपसी मतभेद त्यागेर एमालेलाई पहिलो शक्ति बनाउनु र नेपालीत्वको झण्डा उच्च राख्नु रहेको प्रष्ट पारे।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया