काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओली ले फागुन २१ गते हुने निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई ‘देशलाई बचाउने कि हराउने’ भन्ने अग्निपरीक्षा भएको बताएकी छन् ।
आइतबार पोखरा मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व र स्वाभिमान जोगाउन मतदाताले राष्ट्रवादी कित्तामा उभिएर मत परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।
राप्रपाको समानुपातिक उम्मेदवारसमेत रहेकी ओलीले वर्तमान व्यवस्था र गणतन्त्रका कारण देश दक्षिण एसियाकै गरिब राष्ट्रमध्येमा पुगेको दाबी गरिन् । २०६२/६३ को आन्दोलनपछि करिब एक लाख उद्योग बन्द भएको र युवाहरू विदेशिन बाध्य भएको उनको आरोप छ ।
उनले गणतन्त्रका नाममा सीमित नेता र तिनका आसेपासेले मात्र लाभ लिएको तर सर्वसाधारणले दुःख पाएको जिकिर गरिन् । चुनावका बेला मात्रै धर्म र संस्कृतिको पक्षधर बनेर प्रस्तुत हुने अन्य दलका नेताहरूलाई उनले ‘छद्मभेषी रावण’ को संज्ञा दिँदै धर्मनिरपेक्षतावादी नेताहरूले हिन्दुत्वको नाटक गरिरहेको आरोप लगाइन् ।
देशमा न्याय, निष्ठा र इमान्दारिता कायम गर्न सनातन हिन्दू राष्ट्र आवश्यक रहेको उनको भनाइ थियो । साथै, देशको सम्मान र स्वाभिमान जोगाउन राजसंस्थालाई अभिभावकका रूपमा पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिइन् । राजसंस्था हुँदा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उच्च रहेको दाबी गर्दै उनले वर्तमान राजनीतिक असफलता तथा सहकारीपीडितलगायतका समस्या समाधानका लागि सनातनी नेतृत्व आवश्यक रहेको तर्क प्रस्तुत गरिन् ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया