काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको खबरपछि पाकिस्तानका प्रमुख सहरहरूमा व्यापक प्रदर्शन र हिंसा भड्किएको छ। आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

विशेषगरी शिया समुदायको बाहुल्यता रहेका क्षेत्रमा प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्। हिंसात्मक घटनामा कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाको मृत्यु भएको जनाइएको छ।

advertisement

इस्लामावादको रेड जोन नजिक हजारौँ प्रदर्शनकारी भेला भई अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाएका थिए, जसका कारण इस्लामावादका अस्पतालहरूमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ।

कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट तोडफोड गरी भवनमा क्षति पुर्‍याएपछि अवस्था थप तनावपूर्ण बनेको थियो। सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको आदेश दिएका छन्।

उत्तरी क्षेत्र गिल्गिट–बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीहरूले संयुक्त राष्ट्रसंघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु घोषणा गरिएको छ।

पाकिस्तान सरकारले इरानमाथि भएको आक्रमणको निन्दा गरे पनि प्रदर्शनकारीहरूले सरकारको भूमिका पर्याप्त नभएको भन्दै विरोध जारी राखेका छन्। यसैबीच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई भिडभाड हुने स्थानमा नजान सचेत गराएको छ।

यस घटनाले सन् १९७९ मा पाकिस्तानस्थित अमेरिकी दूतावासमा भएको आगजनीको स्मरण गराएको छ। साथै, लाहोर, पेशावर, मुल्तान र फैसलावाद लगायतका सहरहरूमा पनि हजारौँ मानिस सडकमा उत्रिएर खामेनीको मृत्युमा शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com