काठमाडौं। इरानले अमेरिका तथा इजरायलको आक्रमणको जवाफमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि निरन्तर हमला गरिरहेका बेला अब आफ्नो सीमा नाघेर छिमेकी मुलुकहरूका महत्वपूर्ण आर्थिक संरचनामाथि पनि आक्रमण थालेको छ ।

सोमबार इरानले दुबईमा रहेको विश्वकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अरामकोको रास तनुरा रिफाइनरीमा ड्रोन आक्रमण गरेको छ । रोयटर्सको रिपोर्टअनुसार यो आक्रमणपछि साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले रास तनुरा रिफाइनरी सावधानीका रूपमा बन्द गरेको छ ।

advertisement

यो रिफाइनरी साउदी अरेबियाको स्वामित्वमा छ तर भौगोलिक रूपमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा अवस्थित छ । एउटै आक्रमणले युएई र साउदी दुवै मुलुकलाई एकैपटक चोट पुर्‍याएको छ । आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ ।

अरामकोका एक अधिकारीले भने, “रास तनुरा रिफाइनरी सावधानीका रूपमा बन्द गरिएको थियो । स्थिति नियन्त्रणमा छ ।” यद्यपि आक्रमणको पूर्ण क्षति तथा प्रभावबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन ।

यो घटनाले मध्यपूर्वमा तनाव थप चर्किएको छ । खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरूमाथि इरानको सघन हमला जारी रहँदा लाखौं नेपाली श्रमिकहरू कार्यरत यूएई, साउदी अरेबिया, कतार, कुवेत तथा बहराइनमा सुरक्षा जोखिम बढेको छ । नेपाल सरकारले यसअघि नै इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न एडभाइजरी जारी गरिसकेको छ ।

तेलको मूल्यमा भएको यो तीव्र वृद्धिले विश्वव्यापी अर्थतन्त्रमा पनि असर पार्ने देखिएको छ । स्थिति अझै तनावपूर्ण बनेको छ र थप ठूलो जवाफी कारबाहीको सम्भावना बढेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com