काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन निष्क्रिय पार्ने क्रममा भएको इरानी आक्रमणमा ज्यान गुमाउने नेपाली दिवस श्रेष्ठ गोरखाका रहेको पुष्टि भएको छ ।
२९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए । नेपाली राजदूतावास अबुधाबीले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।
युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो । तीमध्ये एक नेपाली, एक बंगलादेशी र एक पाकिस्तानी नागरिक रहेको पुष्टि भएको छ ।
युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरु भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन् । दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ ।
यसैगरी दुई वटा क्रुज मिसाइललाई पनि युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरेको मन्त्रालयले उल्लेख गरेको छ । आक्रमण सुरु भएयता इरानले कुल ५४१ वटा ड्रोन हमला गरेको थियो । तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको छ । २१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गरेको मन्त्रालयको भनाइ छ ।
संवेदनशील परिस्थितिमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन, सुरक्षित स्थानमा रहन तथा युएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास अबुधाबीले आग्रह गरेको छ ।
यस घटनाले खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षा चिन्ता थप बढाएको छ । परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासहरूले नेपाली समुदायसँग सम्पर्क बढाएर आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराइरहेका छन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार











प्रतिक्रिया