एजेन्सी । इजराइल–अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ। यसबीच मध्यपूर्वमा तनाव तीव्र भएको छ।

इरानले साउदी अरबको महत्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा’ मा हवाई हमला गरेको छ। यसका कारण रिफाइनरी बन्द भएको छ। रोयटर्सका अनुसार, साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको उक्त रिफाइनरीमा दैनिक ५.५–६ लाख ब्यारेल कच्चा तेल उत्पादन हुन्छ र यसबाट अमेरिका, एसिया तथा युरोपसहित विभिन्न देशमा तेल निर्यात गरिन्छ।

advertisement

इजराइलबाहेक इरानले कतार, बहराइन र संयुक्त अरब इमिरेट्सका प्रमुख स्थलहरूमा पनि आक्रमण जारी राखेको छ।

यसैबीच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले इरानले अमेरिका सँग वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबर असत्य रहेको पनि खण्डन गरेका छन्।

युद्धमा लेबनानको उग्रवादी संगठन हिजबुल्लाह पनि सहभागी भएको छ। इरानको समर्थन प्राप्त हिजबुल्लाहले इजराइलका विभिन्न क्षेत्रमा बमबारी गरेको छ र इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ।

अल जजिराको रिपोर्टअनुसार, अमेरिका र इजराइलले संयुक्त रूपमा इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन्। युद्ध सुरु भएदेखि प्रारम्भिक ३० घण्टाभित्र २ हजारभन्दा बढी बम खसालिएका छन्।

यस आक्रमणमा अहिलेसम्म २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएको जानकारी छ। एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु र ४५ जना घाइते भएका छन्।

फेब्रुअरी २८ मा सुरु भएको युद्धको पहिलो दिनै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई मारिएका थिए भने, आइतबार ३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।

यो घटनाले मध्यपूर्व क्षेत्रमा मानव र आर्थिक संकट थप गहिरो बनाएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com