काठमाडौं । नेकपा एमालेका नेता एवं गुल्मी १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेको शक्तिबाट डराएर नेतैनेताको गठबन्धन बनेको आरोप लगाएका छन् ।

‘एमालेको ताकतसँग सबै दल डराएका छन् । केपी शर्मा ओलीलाई गफाडी भन्ने आरोप लगाएका छन् । गफाडी नै भन्ने हो भने शेरबहादुर, प्रचण्ड, माधव नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई, वामदेव गौतम मिल्दा पनि किन डराएको त ? किन यत्रो गठबन्धन गरेर आएको त ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।

चुनाव हार्ने डरले गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको भन्दै उनले कटाक्ष गरे । ज्ञवालीले थपे, ‘चुनाव हुन अब १६ दिन बाँकी छ । गठबन्धनले आगामी प्रधानमन्त्री को समेत भन्न सकेको छैन । कांग्रेस भन्छ, शेरबहादुर देउवा माओवादी भन्छ, प्रचण्ड । के मंसिर ४ पछि दुई जना प्रधानमन्त्री बन्ने हो ? नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री तोकेको छ ।’

उनले गठबन्धनले साझा घोषणापत्र समेत ल्याउन नसकेको आरोप लगाए । उनले भने, ‘चित्रबहादुरले भनेजस्तो संघीयता खारेज हुन्छ कि प्रदेशको संख्या बढ्छ ? प्रचण्डले भनेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुन्छ कि कांग्रेसले भनेजस्तो यथास्थितिमै रहन्छ ? रंगीबिरंगी घोषणापत्र के आधारमा कार्यान्वयन हुन्छ ?’ एमालेले सरकार चलाउन सकेनौं भनेर जनतालाई दण्डित गरे जनमत गरेर सम्मान गर्ने पनि उनले बताए।

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com