काठमाडौं। नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा अन्य पार्टीबाट ५ हजार ८५३ जना नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले यो जानकारी दिएका हुन् ।
प्रवक्ता चालिसेले भने, “नेपाली कांग्रेसमा अन्य पार्टीका ५ हजार ८५३ नेता कार्यकर्ता प्रवेश गर्नुभएको छ । यसअघि पार्टी छोड्नु भएका नेता कार्यकर्ता घर फर्क अभियानअन्तर्गत अधिकांश फर्किसक्नुभएको छ ।” उनले पार्टी छोडेर गएकाहरू फर्किने क्रम जारी रहेको र कांग्रेसमा एकताको सन्देश मजबुत बन्दै गएको उल्लेख गरे ।
प्रवक्ता चालिसेले निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा अध्ययन गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई प्रभाव पार्ने कार्यप्रति कांग्रेस पूर्ण रूपमा सचेत रहेको बताउँदै यस्ता गतिविधिविरुद्ध आवश्यक कदम चालिने पनि स्पष्ट पारे ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा विभिन्न दल तथा समूहबाट कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । कांग्रेसले यसलाई पार्टीको संगठन विस्तार तथा जनताको विश्वास जित्ने अभियानका रूपमा लिएको छ । प्रवक्ता चालिसेले कांग्रेसले मतदातासँग प्रत्यक्ष जोडिएर विकास, लोकतन्त्रको रक्षा तथा सुशासनको सन्देश प्रवाह गरिरहेको बताए ।
यो प्रवेशले कांग्रेसको चुनावी अभियानलाई थप ऊर्जा मिलेको पार्टी निकट स्रोतहरूले बताएका छन् । निर्वाचनमा कांग्रेसले देशव्यापी रूपमा संगठनात्मक बलियो बनाउने प्रयास गरिरहेको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया