काठमाडौं। निर्वाचन आयोगले फागुन १९ गते बिहानदेखि लागू भएको मौन अवधिमा सबैले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने विश्वास व्यक्त गरेको छ । गलत कार्य भएमा आयोग कारबाही गर्नबाट पछि नहट्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्पष्ट चेतावनी दिएका छन् ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा प्रचारप्रसार, प्रभाव पार्ने गतिविधि, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट मत माग्ने, मतदान केन्द्रको ३०० मिटर वरिपरि निर्वाचन चिह्न, पर्चा, पोस्टर, ब्यानर आदि राख्ने जस्ता कार्य पूर्ण निषेध रहेको स्मरण गराएका छन् । उनले भने, “आयोगले पटक–पटक सरोकारवाला सबै पक्षमा आचारसंहिता पालना गर्न आग्रह गर्दै आएको छ । मौन अवधिमा गलत कार्य भएमा आयोगले शून्य सहनशीलताको नीति अपनाउँदै तत्काल कारबाही अघि बढाउँछ ।”
उनका अनुसार दल तथा उम्मेदवारहरूले आफ्ना मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । यो अवधिमा मतदातालाई स्वतन्त्र तथा विवेकपूर्ण ढङ्गले मतदान गर्ने वातावरण सिर्जना गर्न मौन अवधिको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
मौन अवधि उल्लङ्घन भएमा उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेसम्मको कारबाही हुने आयोगले यसअघि नै स्पष्ट पारिसकेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षले आचारसंहिता कडाइका साथ पालना गर्न आयोगले फेरि आग्रह गरेको छ ।
फागुन १९ गते बिहानदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म मौन अवधि कायम रहनेछ । यो अवधिमा निर्वाचन व्यवस्थापन गर्ने निकायलाई शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया