काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्धको युद्धमा बेलायतले पर्याप्त सहयोग नगरेको भन्दै बेलायती प्रधानमन्त्री केअर स्टार्मरको कडा आलोचना गरेका छन्।
ट्रम्पले बेलायत पहिले जस्तो भरोसायोग्य सहयोगी नभएको र दुई देशबीचको सम्बन्ध अहिले नाटकीय रूपमा परिवर्तन भएको बताएका छन्। ‘द सन’ सँगको कुराकानीमा उनले भने, ‘स्टार्मरले सहयोग गरेका छैनन्। मैले कहिल्यै सोचेको थिइनँ कि बेलायतबाट यस्तो व्यवहार देख्नुपर्ला।’
ट्रम्पले मध्यपूर्वको युद्धमा अब अमेरिका बेलायतमाथि निर्भर नरहने संकेत पनि दिएका छन्। उनी फ्रान्स र अन्य देशहरू सहयोगी रहँदा बेलायतको रवैया फरक र निराशाजनक रहेको टिप्पणी गरेका छन्। उनको बुझाइमा, कुनै समय ‘सबैभन्दा ठोस’ मानिएको गठबन्धन अहिले दबाबमा परेको छ।
यता प्रधानमन्त्री स्टार्मरले संसद्मा स्पष्ट गर्दै आफ्नो सरकार ‘हवाई आक्रमणमार्फत कुनै देशमा शासन परिवर्तन गर्ने पक्षमा छैन’ भनी प्रष्ट पारेका छन्। सुरुमा इरानमाथि आक्रमणका लागि बेलायतले आफ्ना सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भए पनि पछि त्यसलाई रक्षात्मक प्रयोजनका लागि मात्र खुला गरिएको थियो।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया