जनकपुरधाम । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन्।

शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए।

बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो।

जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो।

०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो।

निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए।

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन्।

तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन्।

दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो।

डिएनए परीक्षणको रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेशी चढ्न सकेको थिएन।

‘कातिक २५ गते शिवराजको तारेख तोकिएको थियो। रिपोर्टको कारणले पेशी चढ्न सकेको थिएन। अब २५ गते नै पेशी चढ्नेछ,’ वकिल यादवले भनिन्।

जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परिक्षणको रिपोर्ट आएको हो। शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com