काठमाडौं। गृह मन्त्रालयले भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भएको भर्चुअल बैठकमा निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको निष्कर्ष निकालिएको हो ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठक बसेको थियो । करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन, विद्यमान अवस्था तथा केन्द्रले गर्नुपर्ने समन्वयबारे विस्तृत छलफल भएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले बताइन् ।
बैठकमा प्रत्येक जिल्लाको निर्वाचन तयारी, सुरक्षा व्यवस्थाको अवस्था, मतदान केन्द्र तथा मतदानस्थलको व्यवस्थापन, सीमा क्षेत्रको सुरक्षा, सम्भावित चुनौती तथा समाधानका उपायहरूबारे जानकारी लिइएको थियो । प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन थप प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको सहप्रवक्ता आचार्यले जानकारी दिइन् ।
गृह मन्त्रालयले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबै जिल्लामा निर्वाचन सुरक्षाको लागि आवश्यक जनशक्ति, सवारी साधन, हातहतियार तथा अन्य सामग्री परिचालन भइसकेको छ । सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।”
मन्त्रालयले निर्वाचनमा संलग्न सबै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी) बीच समन्वयलाई थप मजबुत बनाइएको पनि जनाएको छ । साथै, मतदान केन्द्रहरूको सुरक्षाका लागि विशेष टोली परिचालन गरिएको छ ।
गृह मन्त्रालयले सबै पक्षलाई निर्वाचन आचारसंहिता पालना गर्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ । कुनै पनि प्रकारको अवाञ्छित गतिविधि भएमा तत्काल कारबाही गरिने पनि स्पष्ट पारिएको छ ।
फागुन २१ गते हुने यो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायहरू उच्च सतर्कता र पूर्ण तयारीमा रहेका छन् ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया