काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारी तथा सुरक्षा अवस्थाबारे विस्तृत छलफल हुने बताइएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षाको ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन् ।

advertisement

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कता तथा समन्वयका साथ काम गर्न निर्देशन दिइसकेकी छन् । निर्वाचनको केही दिनअघिदेखि नै देशव्यापी रूपमा सुरक्षा निकायहरू मजबुत तवरले परिचालित भइसकेका छन् ।

गृह मन्त्रालय तथा सुरक्षा निकायहरूले मतदान केन्द्र तथा मतदानस्थलहरूको सुरक्षा, सीमा क्षेत्रको निगरानी, सम्भावित अवाञ्छित गतिविधिको रोकथाम तथा मतदाताको सुरक्षित आवागमनका लागि विशेष योजना कार्यान्वयन गरिरहेका छन् । निर्वाचनमा संलग्न सबै पक्षलाई आचारसंहिता पालना गर्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न सरकारले आग्रह गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को यो बैठकले निर्वाचनको अन्तिम चरणमा आवश्यक समन्वय तथा निर्देशन दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com