काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको मौन अवधिमा पार्टी तथा आफूविरुद्ध भ्रामक सूचना र फेक सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्ता सामग्रीको प्रतिवाद गर्न तथा सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन् ।

सभापति थापाले भने, “मौन अवधिमा समेत म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन् ।” उनले यो कार्य निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भएको बताए ।

advertisement

थापाले फेसबुक, टिकटक, युट्युबजस्ता प्लेटफर्ममा देखिने भ्रामक सामग्रीलाई तुरुन्त रिपोर्ट गर्न सुझाएका छन् । उनले कुनै पनि सामग्री सेयर गर्नुअघि सत्यता जाँच्न आग्रह गर्दै भने, “अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन सक्छ । सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ ।”

उनले पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई यस्ता भ्रामक सामग्रीविरुद्ध सचेत रहन तथा कांग्रेसको सकारात्मक सन्देश फैलाउन पनि आह्वान गरेका छन् । निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा कांग्रेस तथा थापाविरुद्ध फैलाइएका भ्रामक सामग्रीले चुनावी माहोललाई प्रभावित पार्ने प्रयास भएको उनको भनाइ छ ।

फागुन २१ गते हुने निर्वाचनमा मौन अवधि कायम रहँदा प्रचारप्रसार, प्रभाव पार्ने गतिविधि तथा भ्रामक सूचना फैलाउने कार्य पूर्ण रूपमा निषेध छ । निर्वाचन आयोगले यस्ता कार्यलाई शून्य सहनशीलताको नीति अपनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com