काठमाडौं । इजरायली सेनाले तेहरानको आकाशमा उडिरहेको एक इरानी विमानलाई आफ्ना लडाकु विमानले खसालेको दाबी गरेको छ।
इजरायली सेनाले बुधबार (मार्च ४) इरानका विभिन्न सैन्य संरचनामाथि ठूलो हवाई आक्रमण सुरु गरेको जनाएको छ। सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत जारी गरेको जानकारीअनुसार उक्त आक्रमणमा इरानका क्षेप्यास्त्र प्रक्षेपण स्थल, हवाई रक्षा प्रणाली तथा अन्य सैन्य पूर्वाधारलाई लक्षित गरिएको बताइएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार राजधानी तेहरानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली स्रोतले यो आक्रमण गत शनिबारदेखि सुरु भएको द्वन्द्वपछि भएको दशौँ ठूलो आक्रमण भएको दाबी गरेको छ।
एफ–३५ द्वारा इरानी विमान खसालिएको दाबी
इजरायली सेनाका अनुसार ‘एफ–३५ अदिर’ लडाकु विमानले तेहरानको आकाशमा उडिरहेको इरानको ‘याक–१३०’ प्रशिक्षण विमानलाई निशाना बनाएर खसालेको हो। कुनै पनि युद्धमा एफ–३५ विमानले मानव–सञ्चालित विमानलाई लक्ष्य गरी खसालेको यो पहिलो घटना भएको इजरायलले दाबी गरेको छ।
यसैबीच इजरायलले इरानबाट क्षेप्यास्त्र प्रहार भएको भन्दै आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ। बुधबार बिहान तेल अभिव र आसपासका क्षेत्रमा हवाई हमलाको साइरन बजेको भए पनि हालसम्म कुनै मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले विज्ञप्ति जारी गर्दै इजरायल र अमेरिकाका सैन्य अड्डालाई लक्षित गर्दै ४० भन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको थियो।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया