काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अभिनेता राजेश हमालले मतदातालाई सोचविचार र विवेकका साथ मतदान गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै हमालले वर्तमान परिस्थितिमा देशलाई राजनीतिक स्थिरता र ऐक्यबद्धता अत्यन्त आवश्यक रहेको बताएका छन्। उनका अनुसार राष्ट्रिय अस्तित्व र सुरक्षा सुनिश्चित गर्न पनि राजनीतिक स्थिरता अनिवार्य छ।
उनले केही दिनअघि शक्तिशाली राष्ट्रहरूले इरानमाथि गरेको आक्रमणको प्रसंग उल्लेख गर्दै विश्व राजनीति झन् अस्थिर बन्दै गएको टिप्पणी गरे। यस्तो अवस्थामा नेपालजस्तो सानो राष्ट्र अझ संवेदनशील अवस्थामा पुग्न सक्ने उनको भनाइ छ।
हमालले भदौ २३ र २४ मा भएका घटनापछि देश निर्वाचनतर्फ अघि बढिरहेको उल्लेख गर्दै ती दिन भएका गम्भीर घटनाबारे अझै स्पष्ट जवाफदेहिता नदेखिएको बताए। ती घटनाहरू एक–आपसमा सम्बन्धित थिए वा थिएनन् भन्ने विषयमा पनि जनताले स्पष्ट जानकारी नपाएको उनको भनाइ थियो।
उनका अनुसार यसपटकको निर्वाचन अत्यन्त संवेदनशील र चुनौतीपूर्ण बनेको छ। एकातर्फ पुराना राजनीतिक दलप्रति जनविश्वास कमजोर बन्दै गएको र अर्कोतर्फ नयाँ राजनीतिक शक्तिको अनुभवहीनता देखिएको अवस्थाले मतदाताका लागि सही निर्णय लिन कठिन परिस्थिति सिर्जना भएको उनले बताए।
हमालले वर्तमान भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै नेपालमा राजनीतिक स्थिरता र राष्ट्रिय ऐक्यबद्धता कायम हुन नसके देशको स्वतन्त्रता र सार्वभौमसत्तामै असर पर्न सक्ने चेतावनी दिए। त्यसैले मतदाताले आफ्नो मत प्रयोग गर्दा गम्भीरतापूर्वक सोच्नुपर्ने उनले आग्रह गरे।
उनले मतदाताले आफ्नो मतमार्फत कसलाई शक्ति सुम्पिरहेका छन् र ती प्रतिनिधिले अस्थिर विश्व परिस्थितिमा नेपाललाई कसरी नेतृत्व दिनेछन् भन्ने विषयमा गहिरो विचार गर्नुपर्ने बताए।
हमालका अनुसार अहिलेको राजनीतिमा सहकार्यभन्दा शक्ति संघर्ष बढी देखिन थालेको छ। नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर बन्दै गइरहेको अवस्थामा नेपालजस्तो सानो राष्ट्र झन् संवेदनशील बन्न सक्ने उनको भनाइ छ।
अन्त्यमा उनले मतदातालाई कुनै दबाब वा प्रभावमा नपरी वर्तमान परिस्थिति र देशको संवेदनशीलतालाई ध्यानमा राखेर जिम्मेवार ढंगले मतदान गर्न आग्रह गरे। ‘हाम्रो अगाडि विकल्प सजिलो छैन, चुनौतीपूर्ण छ। त्यसैले सुझबुझ र संयमताका साथ मत प्रयोग गरौँ,’ उनले भने। साथै उनले नेपालको राजनीतिले देशलाई सही दिशामा अघि बढाओस् भन्ने कामना पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया