काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेपछि आफूलाई प्राप्त कर्तव्य पूरा गरेको बताएकी छन् ।

काठमाडौंको धापासी हाइटस्थित मतदान केन्द्र पुगेर मतदान गरेकी प्रधानमन्त्री कार्कीले मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, “हामीलाई दिएको कर्तव्य पूरा गर्‍यौं, म आज खुसी छु । आज देशमा निर्वाचन भयो ।”

advertisement

उनले निर्वाचनलाई शान्तिपूर्ण, उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । भदौ २३ र २४ गते भएको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । सोही दिन प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचनको मिति तोकिएको थियो ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार तथा सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका थिए । देशभर मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनपछि बन्ने नयाँ सरकारलाई सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । निर्वाचनको सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा उनले सबै मतदाता, सुरक्षा निकाय तथा निर्वाचन आयोगलाई धन्यवाद दिएकी छन् ।

मतगणना जारी छ । मतपरिणाम आउनासाथ नयाँ प्रतिनिधिसभाको गठन तथा सरकार निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com