काठमाडौं। नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक अफवाह तथा तोडमोड गरिएका सामग्री नफैलाउन सबैलाई सचेत गराएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा विभिन्न सामाजिक सञ्जालमा पुराना भिडियो सामग्री, सुरक्षा अभ्यासका दृश्य तथा अन्य घटनाका फुटेजलाई तोडमोड गरी मतदान बिथोल्ने प्रयास भएको उल्लेख छ । प्रहरीले यस्ता भ्रामक सामग्री फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको र कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि फोटो, भिडियो सेयर, लाइक वा कमेन्ट गर्नुभन्दा अगाडि त्यसको सत्यता बुझेर मात्र गर्नुहोस् । अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन्छन् ।”
प्रहरीले मतदानलाई सुरक्षित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोगको अपिल पनि गरेको छ । निर्वाचन आयोगले मौन अवधिमा मतदानलाई प्रभाव पार्ने कुनै पनि गतिविधि तथा भ्रामक सूचना फैलाउने कार्यलाई शून्य सहनशीलताको नीति अपनाएको छ । यस्ता कार्यमा संलग्न भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने व्यवस्था छ ।
मतदान जारी रहँदा प्रहरीले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइएका भ्रामक सूचनाको निरन्तर अनुगमन गरिरहेको छ । मतदातालाई आफ्नो मताधिकार निर्भीक रूपमा प्रयोग गर्न र भ्रामक सूचनाप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
फागुन २१ गतेको यो निर्वाचनमा मतदान केन्द्रहरूमा मतदाताको राम्रो उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया