काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उत्साहपूर्ण वातावरणमा मतदान कार्य जारी रहेको जनाएको छ ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा निर्वाध रूपमा सञ्चालन भइरहेको जानकारी दिइन् । उनले भनिन्, “आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ । सबै मतदान केन्द्रहरूमा अहिलेसम्म हामीले त्यस्तो केही मतदान केन्द्रहरू रोकिएको अवस्था पाएका छैनौँ ।”

advertisement

आयुक्त तुलाधरले मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन् । उनले सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापन यसपटक अत्यन्त राम्रो रहेको उल्लेख गरिन् ।

“मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको छ । निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेका छन्,” उनले भनिन् ।

आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको पनि जनाएको छ । सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले मतदान स्थलको निर्माण तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।

मतदान बेलुका ५ बजेसम्म जारी रहने भएकाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयुक्त तुलाधरले सम्पूर्ण मतदाताहरूलाई आग्रह गरेकी छन् ।

निर्वाचन आयोग तथा सुरक्षा निकायहरूले मतदानलाई शान्तिपूर्ण तथा निष्पक्ष बनाउन उच्च सतर्कता अपनाएका छन् । अहिलेसम्म कुनै ठूलो घटना नभएको र मतदान उत्साहजनक रूपमा भइरहेको प्रहरी तथा आयोगले जनाएका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com