विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेको छ। अपराह्न ४ बजेसम्म जिल्लाभर औसत ५९.६७ प्रतिशत मतदान भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ भने सबैभन्दा कम क्षेत्र नम्बर १ मा देखिएको छ।
क्षेत्रगत विवरणअनुसार क्षेत्र नम्बर १ मा ५८.५८ प्रतिशत अर्थात् ७६ हजार ७७४ मत खसेको छ। क्षेत्र नम्बर २ मा ६०.६३ प्रतिशत अर्थात् ८९ हजार ४४३ मतदाताले मतदान गरेका छन्। त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८.६६ प्रतिशत अर्थात् ८२ हजार ६२९ मत खसेको छ भने क्षेत्र नम्बर ४ मा ५८.९६ प्रतिशत अर्थात् ७७ हजार ७२ मत खसेको छ।
सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ, जहाँ ६१.१० प्रतिशत अर्थात् ९९ हजार ८१९ मत खसेको छ।
झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेकोमा अपराह्न ४ बजेसम्म ४ लाख २५ हजार ७ सय ३७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। सहायक प्रमुख जिल्ला अधिकारीद्वारा प्रमाणित गरिएको उक्त तथ्याङ्क अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।
मतदानको समय साँझ ५ बजेसम्म तोकिएको भएकाले अन्तिम मतदान प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया