काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना सुरु गर्ने तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी दिएका छन् ।
खड्काले भने, “अपराह्न ५ बजेसम्म सबै केन्द्रमा मतदान सम्पन्न भइसकेको छ । खसेको मतको यकीन हुन केही समय लाग्छ, तर प्रारम्भिक अनुमानअनुसार ६०–६५ प्रतिशत मत खसेको देखिन्छ ।” उनले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिने र त्यसपछि मतगणना प्रक्रिया प्रारम्भ गरिने बताए ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गरी गणना स्थलमा ल्याउने काम तत्काल सुरु भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय सहमति लिएर आजै साँझदेखि मतगणना थाल्ने तयारी गरेको छ । सुरक्षा व्यवस्था कडा पारिएको र मतगणना प्रक्रियालाई पारदर्शी बनाउन सबै आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार काठमाडौं उपत्यकामा मतदाताको सहभागिता उच्च रहेको छ । निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको र कुनै ठूलो घटना नभएको प्रहरी तथा निर्वाचन अधिकृतहरूले बताएका छन् । मतगणना सुरु भएपछि प्रारम्भिक परिणामहरू क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार











प्रतिक्रिया