नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको जिल्ला अनुशासन समितिले लुम्बिनी प्रदेश सरकारका एक मन्त्री र पूर्वगृहराज्यमन्त्रीसहित २२ जना नेता–कार्यकर्तामाथि कारबाही सिफारिस गरेको छ। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको हो।

अनुशासन समितिका अनुसार सम्बन्धित नेता–कार्यकर्ताले निर्वाचनका क्रममा पार्टीका उम्मेदवारलाई हराउने उद्देश्यले अन्य दलका उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको उजुरी परेपछि छानबिन गरी कारबाही सिफारिस गरिएको हो।

advertisement

जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेका छन्। नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा उद्योगपति विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) लाई उम्मेदवार बनाएको छ।

पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरिएकामध्ये लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री तथा महाधिवेशन प्रतिनिधि देवकरण कलवार, पूर्वगृहराज्यमन्त्री एवं निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नम्बर २ का पार्टी सभापति माधव पाण्डे लगायत रहेका छन्। कारबाही सिफारिस गरिएकामध्ये क्षेत्र नम्बर १ बाट १९ जना र क्षेत्र नम्बर २ बाट ३ जना रहेका छन्।

कँडेल र उम्मेदवार थापाबीच टिकट विवादसमेत भएको थियो। दुबै पक्षले पार्टीबाट टिकट ल्याएको दाबी गरे पनि अन्ततः निर्वाचन आयोगले भीमबहादुर थापाको उम्मेदवारीलाई मान्यता दिएको थियो।
जिल्ला अनुशासन समितिका संयोजक गोविन्द ढकाल ले केन्द्रीय समितिलाई पठाएको पत्रमा उम्मेदवारहरूले दिएको निवेदनका आधारमा पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै कारबाही सिफारिस गरिएको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, “निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरूले दिनुभएको निवेदनअनुसार केही व्यक्तिहरू पार्टी हितविपरीत गतिविधिमा संलग्न भई अन्य दलका उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको तथा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउने प्रयास गरेको बुझिन आएकोले नेपाली कांग्रेसको विधान २०१७ को दफा ३४ उपदफा ४ (ख) बमोजिम पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ।”

कांग्रेस विधानअनुसार निर्वाचनका क्रममा पार्टीका उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध, असहयोग वा अन्य दलका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न सकिने व्यवस्था छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com