जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नं १ मा मतगणना प्रक्रिया रोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज भए पनि घन्टी चिह्नमा परेको मत सदर गर्नुपर्ने माग गर्दै रास्वपा समर्थकहरूले नाराबाजी गरेका छन् ।
समर्थकहरूले ‘अबकी बार बालेन सरकार’ भन्दै नारा लगाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मतगणना रोकेर किशोरी साहको मत सदर गर्नुपर्ने माग गरेका हुन् । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले नियन्त्रणमा लिनुपरेको छ ।
निर्वाचन आयोगले फागुन १८ गते किशोरी साहको उम्मेदवारी खारेज गरेको थियो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको प्रमाण पुगेपछि आयोगले यो निर्णय गरेको थियो । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० मा कालोसूचीमा परेका थिए । विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा पनि नाम जोडिएको पाइएको थियो ।
उम्मेदवारी खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर मतपत्र छापिएर मतदान भइसकेकाले घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर मान्ने विषयमा विवाद उत्पन्न भएको हो । मुख्य निर्वाचन अधिकृत मनोज बरालले शुक्रबार राति नै निर्वाचन आयोगलाई पत्र लेखेर निर्देशन माग गरेका छन् ।
‘रास्वपा उम्मेदवारको मनोनयन खारेज गरिएको छ । तर मतपत्रमा घन्टी चिह्न छँदैछ । त्यो चिह्नमा लगाइएको स्वस्तिकलाई के गर्ने भन्ने विषयमा हामीले आयोगलाई पत्र लेखेका छौं,’ उनले भने, ‘आज बिहान १० बजेसम्म सो पत्रबारे आयोगको निर्णय आउँछ, त्यसपछि हामी मतगणना अगाडि बढाउँछौं ।’
यो विवादले मतगणना प्रक्रियामा जटिलता थपेको छ । मतदाता तथा राजनीतिक दलहरूबीच चासो बढेको छ । निर्वाचन आयोगको निर्णयपछि मात्र मतगणना अघि बढ्ने अपेक्षा गरिएको छ । धनुषा–१ मा रास्वपाको मत कति हुने भन्नेमा पनि सबैको ध्यान केन्द्रित भएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया