मनाङ। प्रत्यक्ष उम्मेदवार नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले मनाङबाट साढे ७ सय मत कटाएको छ । सम्पन्न गणना अनुसार मनाङबाट रास्वपाले ७ सय ५२ मत ल्याएको हो । समानुपातिकमा पनि पहिलो चाहिँ नेपाली काँग्रेस भएको छ । काँग्रेसले १ हजार ३ सय ७७ मत ल्याएको छ ।
यस्तै, प्रत्यक्षमा काँग्रेसलाई वाक ओभर दिएर उम्मेदवारी फिर्ता लिएको नेकपा एमालेले रास्वपाभन्दा कम ५ सय ७१ मत मात्र ल्याएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, नेपाली कम्युनिस्ट पार्टीले २ सय २६ मत ल्याउने बाहेक अरुले १ सय मत कटाएनन् ।
हर्क साम्पाङको श्रम संस्कृति पाटीले ८३ मत पाएको छ । राष्ट्रिय परिवर्तन पाटीले ४०, संयुक्त नागरिक पार्टीले २० मत पाएको छ । नेशनल रिपब्लिक नेपालले ११, मंगोल नेशनल अर्गनाइजेसनले ११, राप्रपाले १०, जनमतले ५ मत पायो । सार्वभौम नागरिकको ४ र राष्ट्रिय एकता दलले २ मत पायो ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी, जसपा, नेमकिपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मातृभूमि, राष्ट्रिय गौरव पार्टीले १ मत पाएका छन् । जिल्लामा ५८ दलमध्ये ३६ दललाई शून्य मत छ भने ७ वटा दलले १ मत पाएका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया