काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी उत्साहमा बहकिने होइन, संयमित र सुसंस्कृत राजनीतिक शैली अपनाउँदै अघि बढ्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट विजयी भएपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

advertisement

लामिछानेले भने, ‘जनताले हामीमाथि ठूलो भरोसा गरेका छन्। त्यसलाई आत्मसात गर्दै संयमता र जिम्मेवारीका साथ अघि बढ्नेछौँ।’

उनले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकलाई अन्य दलप्रति अनावश्यक गालीगलौज नगर्न पनि निर्देशन दिएका छन्। राजनीतिक प्रतिस्पर्धा भए पनि सभ्य र मर्यादित व्यवहार कायम राख्नुपर्ने उनको भनाइ छ।

‘यदि हामीले जनताको विश्वास र अपेक्षा अनुसार काम गर्न सकेनौँ भने, आज जसरी जनताले जिताएका छन्, भोलि त्यही जनताले पराजित गराउन पनि सक्छन्,’ उनले भने, ‘त्यसैले नागरिकप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्नेछौँ। ‘

लामिछानेले रास्वपाले निर्वाचनअघि नागरिकसँग गरेको ‘करारपत्र’लाई मार्गदर्शक बनाएर आगामी काम अघि बढाइने स्पष्ट पारे।

चितवन क्षेत्र नम्बर–२ बाट उनले लगातार तेस्रो पटक विजय हासिल गर्दै ‘ह्याट्रिक’ गरेका छन्। यस पटक उनले ५४ हजार ४०२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com