काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै मोदीले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गराएकोमा खुशी व्यक्त गरेका छन् । उनले नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई विशेष खुशी लागेको बताएका छन् । यो घटनालाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोशेढुंगा भएको उनको भनाइ छ ।

advertisement

प्रधानमन्त्री मोदीले नयाँ सरकारसँग सहकार्य गर्न भारत पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “घनिष्ठ मित्र र छिमेकीको रूपमा भारत साझा शान्ति, प्रगति र समृद्धिका लागि नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ ।”

मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । निर्वाचनपछि बन्ने नयाँ सरकारसँग भारतले विकास, व्यापार, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उनको सन्देशमा जोड छ ।

यो सन्देशले नेपाल–भारत सम्बन्धमा सकारात्मक सङ्केत दिएको छ । निर्वाचन सम्पन्न भएसँगै दुई देशबीचको कूटनीतिक तथा आर्थिक सहकार्य नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com