काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई ठूलो धक्का लागेको छ । अघिल्लो निर्वाचनमा ३२ सिट जितेको नेकपाले यो पटक जम्मा २ सिट जितेको छ भने ५ स्थानमा मात्र अग्रता कायम राखेको छ ।
रुकुम पूर्व–१ मा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालिकोट–१ मा महेन्द्रबहादुर शाही विजयी भएका छन् । अन्य क्षेत्रमा अपराह्न ५ बजेसम्म रोल्पा–१ मा वर्षमान पुन, डोल्पा–१ मा धनबहादुर बुढा, सल्यान–१ मा रमेश मल्ल, रुकुम पश्चिम–१ मा गोपाल शर्मा र सिन्धुपाल्चोक–२ मा युवराज दुलालले अग्रता कायम राखेका छन् । रोल्पा–१, डोल्पा–१ र रुकुम पश्चिम–१ मा फराकिलो अग्रता छ भने सल्यान–१ र सिन्धुपाल्चोक–२ मा झिनो मतले नेकपाका उम्मेदवार अगाडि छन् ।
अघिल्लो निर्वाचनमा साविक माओवादी केन्द्रले जितेका खोटाङ–१, भोजपुर–१, मोरङ–४, काभ्रे–१, नुवाकोट–१, सिन्धुपाल्चोक–१, सिन्धुली–२, दोलखा–१, गोरखा–२, बागलुङ–२, दाङ–२, रुकुम पूर्व–१, रोल्पा–१, कालिकोट–१, जाजरकोट–१, रुकुम पश्चिम–१ र हुम्ला–१ जस्ता क्षेत्र गुमाएको छ ।
यी क्षेत्रमा रास्वपा, श्रम संस्कृति पार्टी, कांग्रेस, एमाले लगायत अन्य दलका उम्मेदवारहरूले अग्रता लिएका छन् । खोटाङ–१ मा श्रम संस्कृति पार्टीका आरेन राई, भोजपुर–१ मा ध्रुवराज राई, मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी, काभ्रे–१ मा रास्वपाका मधुकुमार चौलागाईं, सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुली, नुवाकोट–१ मा कांग्रेसका डा. प्रकाशशरण महत, दोलखा–१ मा रास्वपाका जगदीश खरेल, गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी र हुम्ला–१ मा कांग्रेसका जयपति रोकायले अग्रता लिएका छन् ।
अघिल्लो निर्वाचनमा साविक माओवादीले जितेका यी क्षेत्र गुमाउँदा नेकपाको प्रभावमा ठूलो गिरावट आएको छ । काठमाडौं उपत्यकामा समेत नेकपाको प्रदर्शन निराशाजनक रह्यो भने कर्णाली र अन्य पहाडी क्षेत्रमा पनि पार्टीको प्रभाव कमजोर बनेको छ । मतगणना जारी रहँदा नेकपाको अन्तिम स्थिति थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया