काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ज्वाइँ र ससुराका दुई जोडीको रोचक संयोग देखिएको छ । एउटा जोडीमा ज्वाइँले प्रत्यक्ष निर्वाचन जितेर सांसद बनेका छन् भने ससुरा पराजित भएका छन् । अर्को जोडीमा ज्वाइँ पराजित भए पनि ससुरा समानुपातिकबाट सांसद बन्ने निश्चित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीका ज्वाइँ हुन् । बहुदल आएयता सबैभन्दा धेरै पटक मन्त्री बनेर रेकर्ड बनाएका भण्डारी यसपटक महोत्तरी २ बाट रास्वपाकै उम्मेदवारसँग पराजित भएका छन् ।
यसैगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट पराजित भएका छन् । तर उनका ससुरा अर्जुननरसिंह केसी समानुपातिकतर्फबाट कांग्रेसकै सांसद बन्ने पक्का भएको छ । कांग्रेसको समानुपातिक सूचीमा खस आर्य पुरुषतर्फ पहिलो नम्बरमा रहेका केसी अहिलेसम्मको मतपरिणामका आधारमा सांसद बन्ने निश्चित छ ।
यी दुई जोडीको संयोगले निर्वाचनको रोचकता बढाएको छ । एकातिर प्रत्यक्ष निर्वाचनमा ज्वाइँ–ससुराको फरक परिणाम देखिएको छ भने अर्कोतर्फ समानुपातिक प्रणालीले पराजित परिवारका सदस्यलाई पनि संसद प्रवेशको अवसर दिएको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया