काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

शर्माले आज भिडियो सन्देश जारी गर्दै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा निर्वाचित सांसदहरूलाई बधाई दिएका हुन्। उनले नयाँ जनादेशलाई सम्मान गर्दै देशलाई “साँच्चिकै विकसित नेपाल” बनाउने ऐतिहासिक जिम्मेवारी सफलतापूर्वक पूरा गर्न रास्वपाको नेतृत्वलाई शुभकामना दिएका छन्।

advertisement

यसैबीच आफ्नै गृहजिल्ला रुकुम पश्चिमबाट यसअघि लगातार चार पटक प्रतिनिधिसभा चुनाव जित्दै आएका शर्मा यसपटक भने पराजित भएका छन्। उनलाई उनका पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले पराजित गरेका हुन्।

शर्माले सोमबार बिहान सामाजिक सञ्जाल Facebookमा भिडियो सन्देश सार्वजनिक गर्दै विजयी उम्मेदवार गोपाल शर्मालाई पनि बधाई दिएका छन्। साथै उनले गरिबी, बेरोजगारी न्यूनीकरण र समृद्ध रुकुम निर्माणका लागि जनताले राखेको अपेक्षा पूरा गर्न सुझाव दिएका छन्।

आफू चुनावमा पराजित भए पनि रुकुमेली जनताले दिएको माया, विश्वास र समर्थनप्रति सदैव ऋणी रहने उनले बताएका छन्। पदमा रहे पनि नरहे पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले निर्धारित समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न नेतृत्व गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार व्यक्त गरेका छन्। साथै निर्वाचन सफल बनाउन योगदान पुर्‍याउने सुरक्षाकर्मी र कर्मचारीहरूलाई पनि उनले धन्यवाद दिएका छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com