काठमाडौं। पश्चिम एसियामा बढ्दो तनावका कारण खाडी मुलुकतर्फ हुने उडानहरू प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सम्बन्धित निकायलाई दैनिक दुई करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भइरहेको छ।

अमेरिका र इजरायलले इरानका सैनिक तथा आणविक संरचनामाथि संयुक्त रूपमा हवाई आक्रमण गरेपछि त्यसको प्रत्युत्तरमा इरानले विभिन्न सैन्य तथा रणनीतिक स्थललाई निशाना बनाएको छ। यस घटनापछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतलगायत देशतर्फ हुने उडानहरू एक सातादेखि अवरुद्ध भएका छन्, जसका कारण हवाई क्षेत्रको नियमित गतिविधि प्रभावित भएको छ।

advertisement

सुरक्षासम्बन्धी संवेदनशीलता बढेपछि पश्चिम एसियाका नौ देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । फागुन १६ गतेदेखि लागू गरिएको यस निर्णयले नेपालबाट खाडी मुलुकतर्फ हुने दैनिक करिब १८ वटा उडान रोकिएका छन्। परिणामस्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमले दैनिक दुई करोड १० लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालबाट युएई, दोहा, साउदी अरबजस्ता गन्तव्यमा नियमित रूपमा पाँच वटा वाइडबडी र १३ वटा न्यारोबडी जहाज सञ्चालन हुँदै आएका थिए। तर उडान अवरुद्ध भएपछि यी जहाजका निर्धारित उडान रद्द भएका छन्। न्यारोबडी जहाजको एक उडान रद्द हुँदा करिब १० लाख रुपैयाँभन्दा बढी आम्दानी घट्ने गर्छ भने वाइडबडी जहाजको एक उडान रद्द हुँदा करिब १८ लाख रुपैयाँभन्दा बढी घाटा हुने गरेको बताइएको छ।

हाल १३ वटा न्यारोबडी जहाजका उडान प्रभावित हुँदा करिब एक करोड ३० लाख रुपैयाँ र पाँच वटा वाइडबडी जहाजका उडान रोकिँदा करिब ८० लाख रुपैयाँ आम्दानी घटेको छ। यसरी हेर्दा दैनिक दुई करोड १० लाख रुपैयाँभन्दा बढी आर्थिक असर परेको देखिन्छ। विमानस्थलले जहाज अवतरण, पार्किङ, सञ्चार सेवा, हवाई मार्ग निर्देशन तथा सुरक्षासम्बन्धी शुल्कबाट आम्दानी गर्ने गर्दछ। न्यारोबडी जहाजबाट करिब चार हजार अमेरिकी डलर र वाइडबडी जहाजबाट करिब आठ हजार अमेरिकी डलर सेवा शुल्क प्राप्त हुने व्यवस्था छ। त्यस्तै वायुसेवा निगमले भूमिस्थ सेवा व्यवस्थापनबाट अतिरिक्त आम्दानी गर्दै आएको छ।

यद्यपि यस गणनामा हवाई इन्धन बिक्री तथा यात्रु सेवा शुल्कबाट हुने आम्दानी भने समावेश गरिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम, कतार एयरवेजलगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज नियमित रूपमा उडान गर्दै आएका थिए। यता पश्चिम एसियामा जारी तनावकै बीच फ्लाई दुबई र एयर अरेबियाले सीमित रूपमा उडान सञ्चालन गरिरहेका छन्। एयर अरेबियाले आइतबारदेखि थप दुई उडान सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com