काठमाडौं। धनुषा निर्वाचन क्षेत्र नं १ मा मतगणना सम्पन्न भए पनि निर्वाचन आयोगले औपचारिक परिणाम घोषणा गर्न रोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै गर्दा आयोगले परिणाम सार्वजनिक नगर्ने निर्णय गरेको हो ।
आयोगले फागुन १८ गते साहको उम्मेदवारी कालोसूचीमा नाम रहेको प्रमाण फेला परेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन सम्पन्न भई मतगणना भइसकेको अवस्थामा पनि अदालतबाट अन्तिम आदेश नआएसम्म परिणाम सार्वजनिक नगर्न आयोगले धनुषा जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ ।
क्षेत्रमा साहले सर्वाधिक मत प्राप्त गरेका छन् । उनी पक्षमा २० हजारभन्दा बढी मत परेको छ भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मात्रिका प्रसाद यादवले १० हजार ४०३ मत ल्याएका छन् । साहको उम्मेदवारी खारेज भएकाले आफूलाई विजेता घोषणा गर्नुपर्ने यादवको दाबी छ । नेकपाले पनि विज्ञप्ति जारी गरी निर्वाचन परिणाम तत्काल घोषणा गर्न दबाब दिएको छ ।
आयोगले भने अदालतको अन्तिम फैसला नआएसम्म परिणाम सार्वजनिक नगर्ने स्पष्ट पारेको छ । यस क्षेत्रको मत परिणामलाई लिएर राजनीतिक तथा कानुनी बहस चर्किएको छ । सर्वोच्चको सुनुवाइपछि मात्र यो विवादको निकास हुने देखिएको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया