काठमाडौं । जेनजी अगुवा रक्षा बमले कांग्रेस सभापति गगन थापालाई नयाँ चुनावी परिणामलाई ठूलो मनले स्वागत गर्न सुझाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीमा विद्रोह गरेर साहस देखाए पनि प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयलाई स्वीकार्दै नयाँलाई स्वागत गर्न सुझाएकी हुन्।

‘हामीले बारम्बार भनेका थियौं– अब दलहरू सुध्रिनुपर्छ, योबाहेक अर्को विकल्प छैन। जेन–जी आन्दोलनको एउटा महत्त्वपूर्ण माग भनेकै दलहरूभित्रको रिफर्मेसन थियो । त्यो आवाजलाई तपाईंले सुन्नुभयो, स्वीकार गर्नुभयो र आफैँ आबद्ध दलभित्रै विद्रोह गर्नुभयो।तर, यसपटक धेरै ढिलो भइसकेको थियो । आज जसले जे भने पनि तपाईंले देखाएको त्यो साहसलाई मान्नैपर्छ,’ उनले भनेकी छन्।

advertisement

वर्षौंदेखिको गल्तीले कांग्रेस कमजोर भएको उनको टिप्पणी छ। उनको भनाइ छ । ‘आदरणीय कांग्रेसीजनहरू, आज कांग्रेस यस्तो अवस्थामा खुम्चिनुको कारण गगनले गरेको विद्रोह होइन । यसको कारण त तपाईंहरूको दलभित्र वर्षौंदेखि बढ्दै आएको दलतन्त्र, गलत निर्णयहरू र नेतृत्वले गरेका कमजोरीहरू हुन्। यदि सत्यसँग आँखा जुधाउने नै हो भने, तपाईंहरूले स्वीकार गर्नैपर्छ, तपाईहरूको दलभित्रको ‘दाइवाद र भाउजूवाद’ले पार्टीलाई कमजोर बनाएकै हो,’ उनले लेखेकी छन्।

हारजितलाई स्वाभाविक रूपमा लिन उनको आग्रह छ। ‘सभापतिज्यू, चुनाव हो, हार र जित स्वाभाविक कुरा हो । तर, लोकतन्त्रको सुन्दरता नै यही हो कि जनताको जनमतलाई सम्मान गर्न सकियोस् । हामी आशा गर्छौं, तपाईंले जनताको निर्णयलाई सम्मान गर्नुहुनेछ, नयाँ आउनेहरूलाई ठूलो मन राखेर स्वागत गर्नुहुनेछ र आवश्यक परे सहयोग पनि गर्नुहुनेछ,’ उनले लेखेकी छन्।

उनले लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेकी छन्। ‘लोकतन्त्रमा दलहरूको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले अबका वर्षहरूमा तपाईं फेरि जनतामाझ फर्कनुहोस् । भुईंका कुरा सुन्नुहोस् र नेपाली कांग्रेसलाई फेरि मलजल गरेर, सफा गरेर, जनताको विश्वास जित्ने बीपी र प्रदीप गिरीहरूको कांग्रेस बनाउनुहोस्,’ उनको भनाइ छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com