काठमाडौं । एसियाली बजारहरूमा मंगलबार बिहानको कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० डलर पुगेको छ भने अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य पनि झण्डै ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० डलरमा झरेको छ।
यद्यपि हालको मूल्य अझै पनि युद्ध सुरु भएको समयको तुलनामा करिब ३० प्रतिशतले बढी रहेको बताइएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युद्ध ‘छिट्टै अन्त्य हुन सक्ने’ टिप्पणी गरेपछि तेलको मूल्य घट्न थालेको बीबीसीले जनाएको छ।
तेलको मूल्य घटेसँगै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। यसअघि तेलको मूल्य तीव्र रूपमा बढ्दा खाडी मुलुकबाट धेरै तेल आयात गर्ने एसियाली देशका बजारहरूमा दबाब बढेको थियो।
यसैबीच ट्रम्पले इरानलाई विश्वव्यापी तेल आपूर्ति मार्ग अवरुद्ध नगर्न चेतावनी दिएका छन्। उनले स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन रोकिए अमेरिकाले इरानमाथि पहिलाभन्दा २० गुणा कडा प्रहार गर्ने चेतावनी दिएका हुन्।
अनलाइन वक्तव्य जारी गर्दै ट्रम्पले इरानले तेलको आपूर्ति अवरुद्ध गर्ने कुनै कदम चाले अमेरिकाले सजिलै नष्ट गर्न सकिने लक्ष्यहरूमा आक्रमण गर्ने र त्यसले इरानलाई पुनः राष्ट्रका रूपमा उभिन कठिन बनाउने बताएका छन्। यस्तो अवस्थामा ‘मृत्यु, आगो र भीषण आक्रमण’ हुने उनले चेतावनी दिएका छन्।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले युद्धका कारण यहाँको समुद्री यातायातमा उल्लेखनीय कमी आएको छ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया