काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति अवरुद्ध गर्ने प्रयास गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै भने कि यदि इरानले यस्तो कदम चाल्यो भने अमेरिकाले अहिलेसम्म भन्दा २० गुणा कडा प्रहार गर्नेछ।

ट्रम्पले लेखेका छन्, “यदि इरानले हर्मुज जलडमरू मार्फत तेलको प्रवाह रोक्ने प्रयास गर्छ भने अमेरिका उसलाई अहिलेसम्म गरेको भन्दा २० गुणा कडा प्रहार गर्नेछ।” उनले सजिलै ध्वस्त पार्न सकिने लक्ष्यहरूलाई निशाना बनाइने र यसले इरानलाई पुनः उभिन लगभग असम्भव बनाउने दाबी पनि गरेका छन्। ट्रम्पले मृत्यु, आगो र विनाश इरानमाथि पर्ने चेतावनीसमेत दिएका छन्, तर यस्तो अवस्था नआओस् भन्ने आशा र प्रार्थना पनि गरेका छन्।

advertisement

हर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिन्छ। विश्वमा ढुवानी हुने कुल कच्चा तेलको करिब पाँचौं भाग यही मार्गबाट ओसारपसार हुन्छ। ट्रम्पले आफ्नो चेतावनीलाई चीन र अन्य हर्मुज मार्गमा निर्भर देशहरूका लागि अमेरिकाबाट दिएको चेतावनी वा ‘उपहार’ समेत भनेका छन्, किनभने चीन र अन्य एशियाली देशहरू यही जलमार्गबाट इन्धन आयातमा निर्भर छन्। तर इरान–अमेरिका तनावपछि यो मार्ग ठप्प भएको छ।

यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायल र अमेरिकी राजदूतहरूलाई निष्कासन गर्ने निर्णय लिएको र खाडी तथा युरोपेली देशहरूलाई मंगलबारदेखि हर्मुज जलडमरूबाट निर्बाध आवागमन अनुमति दिइने घोषणा गरेको थियो।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com