काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन शाह हुने स्पष्ट पारेका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले पार्टीका निर्णयबारे बाहिर फैलिरहेका हल्ला र अटकल पूर्ण रूपमा हावादारी र खुरापाती भएको बताएका छन्।
उनले त्यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गर्दै पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर बोल्ने अधिकार कसैलाई नभएको प्रष्ट पारे।
प्रधानमन्त्री नबनाउने भित्री खेल भइरहेको भन्ने हल्ला उठेको विषयमा पाण्डेले स्पष्ट रूपमा खारेज गर्दै भने, ‘जनताले अब हावादारी कुरा सहनुहुन्न। रास्वपा आफ्नो लक्ष्य र एजेन्डामा सिधा र स्पष्ट छ।’
देशको बिग्रँदो प्रशासनिक अवस्था र राजनीतिक नेतृत्वको कामकाजबारे सांसद पाण्डेले टिप्पणी गर्दै भने, समस्या केवल नेताहरूलाई दोष दिनबाट समाधान हुँदैन।
उनले कर्मचारीतन्त्रमा आमूल परिवर्तन आवश्यक रहेको र यसको कार्यशैली सुधारिनु पर्नेमा जोड दिए।
भ्रष्टाचार र सुशासनको विषयमा रास्वपा कडा रहने पनि राजु पाण्डेले बताए। उनले भने, ‘भ्रष्टाचारमा संलग्न जो-जो भए पनि कारबाहीको दायरामा ल्याइने छन्। सरकारी कार्यालयमा साधारण नागरिकले सुशासनको अनुभूति पाउनु पर्छ।
कोही अनुहार हेरेर होइन, नियम र कानुन अनुसार सुशासन कायम गर्ने हाम्रो अडान छ।’
सांसद पाण्डेले यसरी स्पष्ट पारेका छन् कि रास्वपा आफ्नो लक्ष्य र एजेन्डामा दृढ रहँदै देशमा पारदर्शिता, सुशासन र भ्रष्टाचारमुक्त प्रशासन स्थापना गर्न काम गर्दै जानेछ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया