काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा भएको दुर्घटना मा आठ जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोलानजिक गएराति सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। सो क्रममा विभिन्न सवारीसाधन आपसमा ठोक्किएका हुन्।

advertisement

दुर्घटनामा मोटरसाइकल चालक कालीकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।

त्यसैगरी यात्रुवाहक बसमा सवार अन्य ६ जना पनि घाइते भएका छन्। घाइते हुनेहरूमा रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com