ललितपुर । ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। पार्टीलाई सुदृढ र संगठित बनाउँदै अघि बढाउन उनको नेतृत्व र अभिभावकत्व अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ छ।
सभापति गगनकुमार थापालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन तथा महांकाल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनलगायतका जनप्रतिनिधिहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक परिस्थितिमा गगनकुमार थापाको नेतृत्व अपरिहार्य रहेको बताएका हुन्।
संयुक्त विज्ञप्तिमा महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन तथा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले पनि समर्थन जनाएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापासहित पार्टीका अधिकांश पदाधिकारी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने वा नदिने भन्ने विषयमा पार्टीभित्र बहस चलिरहेको छ। यसअघि थापाले राजीनामा दिन सक्ने संकेत गरेका भए पनि उपसभापति विश्वप्रकाश शर्माले त्यसो नगर्न सुझाव दिएको समाचार सार्वजनिक भएको थियो।
ललितपुरका जनप्रतिनिधिहरूले जारी गरेको विज्ञप्तिमा समसामयिक राजनीतिक परिस्थितिमा प्रभावकारी भूमिका निर्वाह गर्न गगनकुमार थापाको नेतृत्व निरन्तर आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीको नेतृत्व कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया