एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गरेका छन् । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनीसँगै उनकी किशोरी छोरी पनि शुटिङ रेन्जमा हतियार परीक्षण गर्दै देखिएकी छन्, जसले उत्तर कोरियाको भावी नेतृत्वबारे फेरि चर्चा बढाएको छ ।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमले एक दिनअघि पेस्तोल तथा अन्य हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षण गरेका थिए । त्यसक्रममा हालै उत्पादनमा प्रवेश गरेको नयाँ पेस्तोलको प्रदर्शन गरिएपछि उनले शुटिङ रेन्जमा त्यसको प्रत्यक्ष परीक्षण गरेका थिए । परीक्षणपछि उक्त पेस्तोललाई उनले ‘उत्कृष्ट’ भन्दै मूल्याङ्कन गरेका केसिएनएले जनाएको छ ।

advertisement

समाचार एजेन्सीले आफ्नो लिखित विवरणमा किमकी छोरीको उपस्थितिबारे उल्लेख नगरे पनि सार्वजनिक तस्बिरहरूमा उनी वरिष्ठ सैन्य अधिकारीहरूसँगै पेस्तोल फायर गरिरहेको देखिन्छ ।

किमले कारखानाको भूमिका सेनादेखि सुरक्षा निकायसम्मका लागि पेस्तोल तथा अन्य हल्का हतियार आपूर्ति गर्न महत्त्वपूर्ण रहेको बताउँदै उत्पादन क्षमता विस्तार गर्न र थप आधुनिक उत्पादन लाइन स्थापना गर्न निर्देशन दिएका केसिएनएले उल्लेख गरेको छ ।

किमकी छोरी किम जु ए सन् २०२२ नोभेम्बरमा गरिएको लामो दूरीको मिसाइल परीक्षणका क्रममा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसयता उनी आफ्ना बुबासँग विभिन्न सैन्य कार्यक्रम, कारखाना उद्घाटन र उच्चस्तरीय कूटनीतिक भेटघाटमा निरन्तर देखिँदै आएकी छन् ।

गत सेप्टेम्बरमा चीनको बेइजिङ भ्रमणका क्रममा पनि उनी किमसँगै देखिएकी थिइन् । त्यहाँ किम जोङ उनले चिनियाँ नेता सी जिनपिङसँग ६ वर्षपछि पहिलो शिखर बैठक गरेका थिए ।

उनको बढ्दो सार्वजनिक उपस्थितिले दक्षिण कोरियाली गुप्तचर अधिकारी र विश्लेषकहरूलाई किमले उनलाई भविष्यको नेतृत्वका लागि तयार पारिरहेको हुन सक्ने अनुमान गर्न प्रेरित गरेको छ । उत्तर कोरियामा किम परिवारको शासनलाई चौथो पुस्तासम्म विस्तार गर्ने सम्भावनाबारे पनि यसले चर्चा बढाएको छ ।

गत महिना पनि राज्य सञ्चारमाध्यमले किम जु एलाई स्नाइपर राइफल परीक्षण कार्यक्रममा सहभागी भएको देखाएका थिए । त्यो कार्यक्रम सत्तारूढ वर्कर्स पार्टीको बैठकपछि आयोजना गरिएको थियो । बैठकमा किमले आगामी पाँच वर्षका लागि राजनीतिक तथा सैन्य प्राथमिकताहरू सार्वजनिक गरेका थिए ।

यसैबिच मङ्गलबार पेस्तोल कारखानाको निरीक्षणपछि किम र उनकी छोरीले नौसेनाको विध्वंसक जहाजबाट प्रक्षेपण गरिएको आणविक क्षमता भएको क्रुज मिसाइल परीक्षण पनि अवलोकन गरेका थिए । सो अवसरमा किमले आफ्नो नौसेनाको आणविक क्षमतालाई अझ तीव्र गतिमा विकास गर्नुपर्ने आवश्यकता दोहोर्‍याएको बताइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com