काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य ले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् ।

११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतीदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन् ।

advertisement

सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उनको जोड छ । देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमानका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याइन् ।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिइन् ।

देशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उनले सबैमा आह्वान गरिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने नेतृ शाक्यले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘अहिले निर्वाचन सम्पन्न भएको छ । एक खालको अन्योलता थोरै हटेको छ तर स्थिरताको प्रश्न कायमै छ । त्यसो भएको हुनाले अब देश कसरी अगाडि बढ्छ त भन्ने जिज्ञासा तपाईं हामी सबैलाई छ । अप्ठ्याराहरु छन्, चुनौतीहरू छन्, देशलाई सबैले माया गर्नुपर्छ नेपाल रह्यो भने हामी रहन्छौं । नेपाली रहन्छौं । नेपालै रहेन भने हामी नेपाली भएर सार्वभौम नेपाली भनेर जुन खालको छ हामीसँग त्यो पनि रहँदैन भन्ने लाग्छ । त्यसो भएको हुनाले नेपाललाई माया गरौं ।’

नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरू राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताइन् ।

महिलाहरू विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएपनि राष्ट्रिय मुद्दामा उनीहरूको एउटै स्वर हुनुपर्ने बताइन् । संविधानले नै महिलाका हक अधिकारलाई सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गर्दै लगेको अवस्थामा अब महिलाहरू चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com