काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखाका दुर्गम बस्तीहरूमा सञ्चार सुविधा विस्तारको माग गर्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक पत्र बुझाएका छन् ।
बिहीबार टेलिकम मुख्यालय पुगेका गुरुङले गोरखाका विभिन्न स्थानहरू अझै पनि टेलिकमको नेटवर्क पहुँचबाहिर रहेको उल्लेख गर्दै तत्काल टावर जडान गरी जनतालाई सञ्चारको पहुँचमा पुर्याउन आग्रह गरेका छन् ।
उनले बुझाएको पत्रमा गोरखाका आरुघाट, बागुवा, फिनाम, थुमी, माझिखोला, डुल, सिरानचोक, लिथोडाँडा लगायत करिब ११ वटा भन्दा बढी दुर्गम स्थानहरूमा मोबाइल तथा इन्टरनेट सेवा नपुगेको उल्लेख छ । यी क्षेत्रका बासिन्दाहरूले सूचना आदानप्रदान, आकस्मिक सेवा लिन तथा विद्यार्थीहरूले अनलाइन कक्षा र पढाइमा ठूलो सास्ती भोग्दै आएका छन् ।
सांसद गुरुङले भने, ‘सञ्चार जस्तो आधारभूत सुविधाबाट नागरिक वञ्चित हुनु दुर्भाग्यपूर्ण हो । वर्तमान डिजिटल युगमा दुर्गम बस्तीका नागरिकलाई पनि नेटवर्क पहुँच दिनु राज्यको दायित्व हो ।’
नेपाल टेलिकमका अधिकारीहरूले सांसद गुरुङको मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै यी स्थानहरूमा प्राविधिक सर्वेक्षण गरी छिट्टै टावर विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । टेलिकमले दुर्गम क्षेत्रमा नेटवर्क विस्तारका लागि बजेट तथा प्राविधिक टोली खटाउने तयारी गरेको बताएको छ ।
सांसद गुरुङले निर्वाचनपछि आफ्नो पहिलो कार्यकालको सुरुवात नै जनताको आधारभूत समस्याबाट गरेका छन् । उनको यो सक्रियताले गोरखाका दुर्गम बस्तीका नागरिकहरूमा सञ्चार पहुँचको आशा जगाएको छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया