काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता तथा सर्लाही–४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंह ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा गलत मान्छेहरूको घेराबन्दीमा रहेको आरोप लगाएका छन् ।

उनले थापालाई त्यस्तो घेराबन्दीबाट बाहिर निस्किन सुझावपनि दिएका छन् ।

advertisement

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले गगन थापा गलत मान्छेहरूको घेराबन्दीबाट बाहिर नआए उनको राजनीतिक भविष्यमाथि नै प्रश्न उठ्ने टिप्पणी गरे ।

रास्वपाको नेतृत्वमा बन्ने सरकारमा आफ्नो भूमिका के हुने भन्ने कुरा पार्टी र अब बन्ने प्रधानमन्त्री बालेन्द्र शाहले तय गर्ने कुरा भएको भन्दै आफूलाई यसबारेमा केही थाहा नभएको सिंहको टिप्पणी छ ।

तर, गैरसांसदहरुलाई मन्त्री बनाउने कुरा सामाजिक सञ्जालको भ्रममात्रै भएको उनको दाबी छ । उनले भने,‘संविधान त हामीले मान्नुपर्छ ।

हाम्रो संविधानले बाहिरबाट मन्त्री बनाउने परिकल्पना गरेको छैन । हामी संसद्बाहिरबाट मन्त्री बनाएर जग हसाउने काम गर्दैनौं ।’

आफू परिवर्तनको पक्षमा रहेकोले कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेसहित आफूहरु सबै मिल्नुपर्ने पक्षमा रहेको उनले स्पष्ट पारे ।

उनले कांग्रेस–एमालेको सरकार सदनबाट नभएर सडकबाट जान्छ भनेर आफूले बारम्बार भनेको पनि स्मरण गराए ।
उनले आफूले प्रधानमन्त्रीको लागि दाबी नगर्ने भन्दै आफूभन्दा राम्रो र देशलेपनि चाहेको व्यक्ति बालेन शाह भएको भन्दै प्रशंसा गरे ।

बालेन शाहलाई रास्वपामा लैजानको लागि आफूले पनि आग्रह गरेको उनको दाबी छ ।

मन्त्री बन्ने पनि आफ्नो कुनै चाहना नरहेको उनको जिकिर छ ।

तर, देशलाई बस्नलायक बनाउने आफ्नो एकमात्र चाहना रहेको सिंहको भनाई छ ।

सरकारले सय दिनभित्र जनतालाई सकारात्मक अनुभूति गराउनुपर्नेमा उनको जोड छ ।

उनले राजनीतिलाई अब व्यापारीकरण, पारिवारिकरण र भ्रष्टीकरणबाट मुक्त गर्ने पनि घोषणा गरे ।

अब रास्वपाका नेताहरुलेपनि गल्ती गरेको छ भने कारबाही हुने उनको उद्घोष छ ।

सिंहले अब बन्ने बालेन नेतृत्वको सरकारलाई पाँच वर्षसम्म कसैले पनि हल्लाउन नसक्ने ठोकुवा गरे ।

उनले भने,‘हामी राम्रो काम गर्छौं । हामीलाई नराम्रो काम गर्ने छुट छैन ।

जनताले पहिलोपटक आफ्नो शक्ति प्रयोग गरेका छन् ।

यो सरकारलाई पाँच वर्षसम्म कसैले पनि हल्लाउन सक्दैन् ।’

पाँच वर्ष नै अब बालेन शाह प्रधानमन्त्री हुने र कुनै आलोपालो सरकार नहुने उनको दाबी छ ।

सभापति रवि लामिछानेसँग राजनीतिक सोच राम्रो भएकोले पार्टी हाँक्ने उनको भनाई छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com