काठमाडौं । जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने राकेश लामा रहेका छन्।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको र राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारमा सातवटा मुद्दा दर्ता भएको अनुसन्धानमा खुलेको जानकारी दिए।
पक्राउ परेका दुवैजनामाथि प्रहरी वृत्त बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले सुनाए।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया