काठमाडौँ । काठमाडौंको बौद्धस्थित ह्यात होटलमा तोडफोड गर्दै होटलभित्र सञ्चालित प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेका कुलध्वज लामा र राकेश लामालाई बौद्ध क्षेत्रबाटै पक्राउ गरेको हो।
गत २०८२ साल भदौ २४ गते भएको सो हिंसात्मक घटनाका मुख्य आरोपितहरूको खोजी गर्ने क्रममा प्रहरीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थायी घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा ‘कुले’ र काभ्रेकै तेमाल गाउँपालिका–८ का ३७ वर्षीय राकेश लामा ‘कोरियन’ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको आपराधिक पृष्ठभूमि रहेको छ। कुलध्वज लामाविरुद्ध यसअघि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधलगायतका ५ वटा मुद्दा दर्ता भइसकेका छन्। त्यस्तै, राकेश लामाविरुद्ध अपहरण, शरीर बन्धक, अभद्र व्यवहार तथा सार्वजनिक अपराधसहित ७ वटा मुद्दा रहेको प्रहरी रेकर्डमा उल्लेख छ।
होटल तथा क्यासिनोमा भएको तोडफोड, लुटपाट र आगजनीको घटनामा उनीहरूको भूमिकाबारे थप स्पष्ट पार्न प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया