काठमाडौं । गुल्मी–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा युवा राजनीतिज्ञ सागर ढकालले मन्त्रिपरिषद् बैठकले हिजो गरेको राजनीतिक नियुक्ति र सिफारिस हरू को कडा शब्दमा आलोचना गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयपछि प्रधानमन्त्री कार्कीको तीव्र आलोचना भइरहेको छ।
ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत विवादास्पद नियुक्तिको विषय सार्वजनिक गर्दै सरकारको कार्यशैलीमाथि प्रहार गरेका छन्।
ढकालले राज्यका निकायहरू विज्ञता र योग्यताका आधारमा नभई राजनीतिक पहुँच तथा नातावादका आधारमा चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
उनले उक्त नियुक्ति बदर गर्न माग गरेका छन्।
त्यस्तै, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि उक्त नियुक्ति विषयमा गम्भीर आपत्ति जनाएकी छन्।
जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेकी रक्षा बमले प्रश्न गर्दै भनिन्, सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए।
मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए।
केका लागि थाहा छ? यो देशले विस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि।
प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना मान्छेलाई बिदाइ उपहारका रूपमा परिषद्, विभाग वा समितिका कुर्सी बाँडफाँट गर्नका लागि होइन।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व शिक्षामन्त्री महाबिर पुनले पनि यी नियुक्ति र सिफारिसहरू शतप्रतिशत गलत भएको बताएका छन्।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया